मिति: २४ माघ २०८१, बिहीबार | इमेल: shivalayatv@gmail.com | फोन: +977 984-1357267
पर्यटकका लागि गन्तव्य बन्न थालेको छ खप्तड । – Shivalaya TV
Banner Newsपर्यटन

पर्यटकका लागि गन्तव्य बन्न थालेको छ खप्तड ।

सुदूरपश्चिम प्रदेश डोटी, अछाम, बझाङ र बाजुरा चार जिल्लाको संगमस्थलमा रहेको खप्तड क्षेत्र पर्यटकीय गन्तव्य बन्न थालेको छ । खप्तड राष्ट्रिय निकुञ्जलाई प्राकृतिक सौन्दर्यताको खानी नै मानिन्छ । जसलाई ‘धर्तीको स्वर्ग’को उपमा दिइएको छ । प्राकृतिक, धार्मिक र सांस्कृतिक विविधतापूर्ण खप्तडमा २२ ठूला पाटन र ५२ झोता अर्थात् रुखका थुम्का छन्।हिउँदमा हिउँले पुरिने यहाँ टाढासम्म कोणधारी वृक्ष देखिन्छन्। डाँफे लगायत चराहरूको चिरबिरले वातावरणलाई अरू मनमोहक बनाउँछ।

खप्तड प्रकृतिप्रेमी पर्यटकका लागि रमणीय मानिन्छ । सरकारले खप्तड हिमाली क्षेत्रदेखि चुरे शृंखलासम्म फैलिएको देख्न सकिन्छ । पहिला खप्तड गाउँलेको चरिचरण क्षेत्रमात्र थियो भने अहिले निकुञ्जले बाजुरा, डोटी, बझाङ र अछामको भूमि समेटेको छ । खप्तड राष्ट्रिय निकुञ्जको उचाई १२६२ देखि ३२७६ मिटरसम्म छ । निकुञ्ज मुख्यालय केन्द्र मानेर त्रिवेणीधाम, खप्तड बाबा आश्रम, खापर दह, सहस्त्र लिंग र घोडा दाउने पाटन घुमफिर गर्न पर्यटकलाई दुई दिन लाग्दछ । त्रिवेणीधाम गंगा, जमुना र सरस्वती नदीको संगमस्थल हो ।

साथै, खप्तडमा खप्तड बाबाले तपस्या गरेको पवित्र ठाउँपनि हो। बाबाले खप्तडमा ५० वर्ष बिताएका थियो । खप्तड पुगेर हेर्नैपर्ने ठाउँ खप्तड बाबा आश्रम पनि हो। त्यहाँ बाबाको मूर्तिका साथै बाबाले प्रयोग गरेका केही सामान छन्। उनले योग र ध्यान गरे र किताबहरु लेखे । उनले धर्मविज्ञान, विचार विज्ञान, स्वास्थ्य विज्ञान, म र मेरो कर्तव्य, नारीधर्म र पुरुषधर्म, आत्म ज्ञान, योग विज्ञान, वेदान्त विज्ञान, आरोग्य विज्ञानलगायत पुस्तक लेखेका छन् । उनले अन्वेषण गरेर बनाएका कैयौं औषधि अझै सुरक्षित छन् । खप्तडमा राजा वीरेन्द्र, रानी ऐश्वर्यको सुत्ने कोठा, प्रयोग गर्ने सामग्री र हेलिप्याड छ । खप्तड बाबाको आश्रमछेउ सीसाखानी छ । आश्रमवरिपरि पुच्छर नभएका अनौठा मुसा देखिन्छन् ।

यस क्षेत्र भित्र खप्तड राष्ट्रिय निकुञ्ज, नागढुंगा, खापर दह, सहस्र लिंग, त्रिवेणीधाम, पाटन, खप्तड दह(ताल), खप्तड बाबाको आश्रम तथा विभिन्न किसिमका वनस्पतीहरु र चराचुरुंगीहरु रहेका छन्। खप्तड राष्ट्रिय निकुञ्ज पश्चिम नेपालको सेती अञ्चलका ४ पहाडी जिल्लाहरू बझाङ जिल्ला, बाजुरा जिल्ला, डोटी जिल्ला र अछाम जिल्ला संगम स्थलमा अवस्थित छ।

यसको क्षेत्रफल २२५ बर्ग कि.मी. छ। समुद्र सतहबाट ३ हजार ५ सय मिटर सम्म उचाईमा रहेको छ । बाह्रै महिना पानीको सतह एकै नासको हुने विशेषता रहेको १ सय ५० मिटर लम्बाई ५०मिटर चौडाई रहेको खप्तड दह छ भने ५२ वटा ताल -दह_ रहेका छन्।

केदार ढुंगा, खापर दह, नाटयश्वरी, निकुञ्ज प्रशासन संग्रहालय अवलोकन पर्यटक गर्न सक्छन् । छिनछिनमा पानी र घाम लाग्ने खप्तडमा बादलले रुख ढाक्दाको समय वातावरण अर्कै देखिन्छ । निकुञ्जमा खासगरी वैशाखदेखि मंसिरसम्म पर्यटक घुमफिरका लागि जाने भए पनि वर्षामा लाग्ने गंगा दशहरा मेलामा खप्तडमा विशेष भीड हुने गर्दछ । रंगीबिरंगी गुराँस फुल्ने मौसम र भूइँफूलले पाटन ढाकेको बेलाको वर्णन गरेरै सकिन्न ।

खप्तडको सुन्दर घाँसे मैदानमा पुग्नेबित्तिकै पर्यटकको थकान मेटिन्छ । घाँसे मैदानमा पल्टिएर आकाश हेर्दाको आनन्दको बयान गरेरै सकिन्न । हिउँमा खेल्न र माउने पर्यटकका लागि अहिले मंसिर, पुस र माघ उत्तम मौसम हुन्छ । खप्तड प्राकृतिक, धार्मिक, सांस्कृतिक र जैविक विविधतापूर्ण भए पनि भौतिक पूर्वाधार र प्रचार–प्रसार कमी छ । तर, प्राकृतिक रूपमै रहेको भू–स्वर्गजस्तै प्रकृति हेर्न खप्तड धेरै पर्यटक पुग्ने गर्दछन् ।

खप्तड घुमफिर गर्न चाहने पर्यटकका लागि अध्यात्म, योग र ध्यान गर्न लायक गन्तव्य हो । ठूल–ठूला पाटन अर्थात् चौर, दह, जीवजन्तु र हिमाल खप्तडको सौन्दर्य हो । खप्तडको प्रकृतिको सुन्दर पाटनमा पुग्दा मन हल्कामात्र होइन, तनावबाट मुक्ति मिलेको पर्यटकलाई आभास हुन्छ । आध्यात्मिक हिसाबले पनि महŒवपूर्ण छ खप्तड । परापूर्वकालमा युधिष्ठिर खप्तड हुँदै स्वर्ग गएको स्कन्द पुराणमा वर्णन पाइन्छ । खप्तडलाई स्थानीय भाषामा ‘खेचराद्री’ भनिन्छ । खेचरको अपभ्रंश हुँदै खप्तड भएको मानिन्छ ।

खप्तडमा त्रिवेणीधाम, सहस्त्रलिंग, केदारढुंगालगायत धार्मिक सम्पदा छन् । त्रिवेणीधाममा गंगा दशहराका बेला जेठ–असारमा ठूलो मेला लाग्छ । रातभर डेउडा नाचगान गरेर बिहान त्रिवेणीमा नुहाईधुवाई गरेर तीर्थाटनका पर्यटक बाटो लाग्छन् । खप्तडमा वर्षैभर घुमफिर गर्न सकिन्छ । जेठ, असार साउनमा खप्तडका पाटन भूइँमा फुलले ढक्कमक्क हुन्छन् । रंगिचंगी अनगिन्ति फूल पाटनमा कार्पेट बिछ्याएसरी लाग्छन् । असोज, कात्तिक, मंसिर, पुस, माघ, फागुनसम्म हिउ“ले ढाकिएर खप्तड सुन्दर देखिन्छ । तराईबाट यति नजिक हिउ“मा खेल्न पाइने अर्को ठाँउ नै छैन ।

चौतर्फी फूलेका लालीगुराँसले फागुन, चैत, वैशाखमा खप्तड ध्वजापताकाले सिंगारेको बेहुली मण्डपझै लाग्छ । खप्तडमा सात थरीका लालीगुरास फुल्छन् । खप्तडको डाँफे कोट र भ्यूटावरबाट भारतको नन्दादेवी हिमालदेखि दार्चुलाको अपी, बझाङ सैपाल र बाजुराको बडी मालिकालगायत दर्जनभन्दा बढी हिमाल हेर्न पाइन्छन् ।

खप्तड पुगेपछि धेरै पर्यटक खप्तड बाबाको जीवनी जान्न चाहन्छन् ।

अहिले नेपाली सेनाले यसको संरक्षण गरिराखेको छ । खप्तड क्षेत्र अझ व्यवस्थित गर्न र पर्यटन विकासका पूर्वाधार तयार गर्न सरकारले २०६३ सालमा खप्तड क्षेत्र पर्यटन विकास समिति गठन गरेको छ । पछिल्लो समय पर्यटकका लागि यतिखेर बाबाको आश्रमस्थल संग्रहालय बनाइएको छ । जहाँ बाबाले प्रयोग गरेका कपडा, लत्ता, जुत्ता, पादुका, ओछयानका रूपमा प्रयोग गरेका मृग, बाघ, भालु, कस्तुरी आदिका छाला, संगीतका साधन पर्यटकले हेर्न पाउ“छन्् । खप्तड आफैंमा प्रकृतिको जीवित संग्रहालय हो । खप्तड क्षेत्रमा चारैतिर घनघोर जंगल र बीचमा ठूला फाँट छन् ।

जैविक विविधताले भरिएको खप्तड क्षेत्रमा घा“से मैदान, थुम्का, जंगल, घोडादौड पाटन, खप्तडबाबाको कुटी, नागढुंगा क्षेत्र, बल्दजोडी भ्युटावर, त्रिवेणी, भीमघट्ट, भीमलौरी, सहर्षलिंग, गणेश पाटन, सीतापाइला, छिते ढुंगो मुख्य घुमफिरका ठाउ“ हुन् । पर्यटक खप्तड पुग्यो भने फर्कन मन गर्दैन । खप्तड घुमफिरमा सुदूरपश्चिमका बझाङ, बाजुरा, डोटी र अछाममा पाइला राख्न सकिन्छ । खप्तड क्षेत्रमा राष्ट्रिय निकुञ्ज, खप्तड क्षेत्र पर्यटन विकास समिति र नेपाली सेनाबाट यात्रीलाई उचित सुविधा मिल्छन् । तर, निकुञ्जमा घुमफिर गर्न पाउने तर खानबस्न नपाउने भएकाले केही समस्या भने छ ।

सरकाले निश्चित मापदण्ड बनाएर अब खप्तडमा पर्यटकका लागि होटल सञ्चालनमा ल्याउन पर्दछ । पर्यटन विकास गर्न खप्तड क्षेत्रका साथै रामारोशन, बडीमालिका, मालीकार्जुन ऐतिहासिक, धार्मिक र प्राकृतिकस्थल सम्भाव्यता अध्ययन गरेर ग्रमीण पर्यटन विकास हुन जरुरी छ । ग्रामीण क्षेत्रमा होमस्टे खोल्दै जानुपर्ने देखिएको छ । योजनाबद्ध ढंगले पर्यटन विकासमा राज्य, स्थानीय सरकार, समाजसेवी, राजनीतिक नेता, कार्यकर्ता, बुद्धिजिबी, कर्मचारी सबैको ध्यान दिने हो भने खप्तड क्षेत्रमात्र हैन, सुदूरपश्चिममा रहेका अन्य पर्यटन क्षेत्रसमेत विकास हुने देखिन्छ ।

खप्तडमा रहेका महत्त्वपूर्ण ठाउँहरु

१. त्रिबेणी

२. सहस्रलिंग

३. खप्तड ताल

४. खप्तड बाबाको कुटी

५. नागढुंगा

६. भिम घट्ट

७. माइस्थान

८. खापर मान्डू

#योगेश भण्डारी

Shivalaya TV

Shivalaya TV is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker