निकै तामझाममा खुलेकाे ग्यालेक्सी फोर के टीभी बन्द ।
करिब तीन वर्षअघि निकै तामझाममा नयाँ टेलिभिजन च्यानलको लञ्च भयो- ग्यालेक्सी फोर के टीभी । यसको केन्द्रमा थिए, लोकप्रिय सञ्चारकर्मी रवि लामिछाने । २०७७ साल फागुन ११ गते ग्यालेक्सी टीभीको उद्घाटन एउटा पाँचतारे होटलमा भव्य समारोहका बीच गरिएको थियो । देशका थुप्रै चर्चित हस्तीहरुको उपस्थितिमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले टेलिभिजनको उद्घाटन गरेका थिए । रविले जनताका मुद्दालाई हेडलाइन बनाएर टेलिभिजन सञ्चालन गर्ने उद्घोष गरेका थिए । तर, यो टेलिभिजन तेस्रो वार्षिकोत्सव मनाउन नपाउँदै धराशायी बनेको छ ।न्यूज २४ टेलिभिजनमा ‘सीधा कुरा जनतासँग’ चलाएर लोकप्रियताको शिखरमा पुगेका रविको लोभलाग्दो क्रेज हेरेर जीबी राईले टीभीमा करोडौं लगानी खन्याए । राई अध्यक्ष र रवि म्यानेजिङ डाइरेक्टर थिए । रविले भने पैसा हालेका थिएनन् । उनले पाँच वर्ष आफूले ढुक्कले काम गर्ने भनेर राईलाई आश्वासन दिएका थिए । टेलिभिजनका स्टाफहरुको बैठक राखेर पाँच वर्षसम्म विज्ञापनको दुःख नहुने पनि बताएका थिए ।