आज संघीय संसद्मा बजेट पेस हुँदै
अर्थमन्त्री पौडेलले २०८२/८३ को वार्षिक अनुमान प्रस्तुत गर्ने

जेष्ठ १५, काठमाण्डाै ।
आज संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्नुहुनेछ। संघीय संसद् सचिवालयका अनुसार बैठक अपराह्न ३:०० बजे बस्नेछ भने नेपालको संविधानको धारा ११९ बमोजिम अर्थमन्त्रीले बजेट पेस गर्ने कार्यसूची रहेको संसद् महासचिव पदमप्रसाद पाण्डेयले जानकारी दिनुभयो।
दुवै सदनका सदस्यहरूलाई दिउँसो २:४५ बजेभित्र प्रतिनिधिसभा बैठककक्षमा उपस्थित हुन आग्रह गरिएको छ।
बजेट पेस हुनु अघि अपराह्न १:३० बजे बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको बेहोरा वाचन गर्नुहुनेछ। सोही बैठकमा अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण पनि प्रस्तुत गर्नुहुने कार्यसूची छ।
त्यसैगरी, राष्ट्रिय सभाको अपराह्न १:४५ मा सुरु हुने बैठकमा पनि अर्थमन्त्री पौडेलले ‘आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण’ पेस गर्नुहुने सम्भावित कार्यतालिका सार्वजनिक गरिएको छ।