अब सरकारी कार्यालयमा टिएमएस चलाउन नपाउने
भाद्र २५, काठमाडौं । अब देशभरिका सरकारी कार्यालयमा सेयर कारोबार गर्ने प्रणाली ‘टीएमएस’ चलाउन मिल्ने व्यवस्था बन्द गरिने भएको छ ।
नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सरकारका सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालयमा टीएमएस नचल्ने व्यवस्था गर्न निर्देशन दिएको छ ।
त्यस्तै सबै स्थानीय तहमा टीएमएस नचल्ने व्यवस्था गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई समेत निर्देशन दिइएको छ ।
टीएमएस नचलाउनका लागि सबै प्रदेशमा परिपत्र गर्न प्रधानमन्त्री कार्यालय मातहत रहेको प्रादेशिक समन्वय महाशाखालाई निर्देशन दिइएको छ ।
यसअघि सिंहदरबारभित्र कर्मचारीले कार्यालय समयमा टीएमएस चलाएर कारोबार गरिरहेको र सामाजिक सञ्जालमा भिडियो समेत भाईरल भएको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस्तो कार्य रोक्न प्रधानमन्त्री कार्यालयसँग आग्रह गरेको थियो ।