बझाङ :उपनिर्वाचनको एमाले भण्डारी ,काङ्ग्रेस सिंह राप्रपा खड्का माओवादी बुढा र एसबाट सिंहले गराय उम्मेद्बारी दर्ता ।
बझाङ —प्रदेशसभा उपनिर्वाचनको लागि नेकपा एमालेको तर्फबाट दमन भण्डारीले उम्मेदवारी दर्ता गराएका छन् । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि उनले पार्टीको तर्फबाट उम्मेदवारी दिएका हुन् । भण्डारी एमालेका स्थायी समिति सदस्य कर्णबहादुर थापा, पोलिटब्युरो सदस्य एवं सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र रावल, सुदूरपश्चिम प्रदेशका पूर्वसभामुख अर्जुन थापा, पूर्वराज्यमन्त्री आशा विक, संविधानसभा सदस्य अफिलाल ओखेडा, केन्द्रीय सदस्य ऐन महरसहित नेता कार्यकताको जुलुस लिएर उम्मेदवारी दर्ता स्थल पुगेका थिए ।
उम्मेदवारी दर्ताअघि एमाले पार्टी कार्यालयमा आयोजना गरेको सभामा बोल्दै उनले आफ्नो पक्षमा अनुभवी कोच रहेको बताउँदै निर्वाचनमा गोल हान्ने दाबी गरेका थिए
बझाङ —प्रदेशसभाको उपनिर्वाचनका लागि नेकपा (माओवादी केन्द्र)का जनक बुढाले उम्मेदवारी दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा शनिबार दिउँसो ४ बजे उनले उम्मेदवारी दर्ता गराएका हुन् । नारा जुलससहित माओवादी केन्द्रका नेता, कार्यकर्ता उम्मेदवारी दर्ता गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए । इलाममा माओवादीले नेकपा एमालेका उम्मेदवारलाई सघाएबापत बझाङमा आफ्नो उम्मेदवारलाई एमालेले सघाउनु पर्ने माग माओवादीले गर्दै आएको छ ।
माओवादीको मागमा एमाले सहमत नभएर आफ्नै उम्मेदवार उठाएको छ ।
बझाङ —बझाङमा हुन गइरहेको प्रदेश सभा उपनिर्वाचनका लागि नेपाली कांग्रेसबाट अभिषेकबहादुर सिंहले उम्मेदवारी दर्ता गराएका छन । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिलामन्त्री एवं प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा निधन भएपछि यहाँ वैशाख १५ गते उपनिर्वाचन हुँदैछ । अभिषेक स्वर्गीय सिंहका जेठा छोरा हुन् ।अभिषेकले नारा जुलुससहित नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता लिएर उम्मेदवारी दर्ता गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए
बझाङ —आगामी वैशाख १५ गते हुने प्रदेश सभा उपनिर्वाचनको लागि नेकपा एसले उम्मेदवारी दर्ता गराएको छ । समाजवादीको तर्फबाट दिलबहादुर सिंहले उम्मेदवारी दर्ता गराएका हुन् । बाजागाजा र जुलुससहित सिंह उम्मेदवारी दर्ता गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । यसपछी नेपाली कांग्रेसको उम्मेदवारी दर्ता गराउने पालो रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी गराएको छ ।
बझाङ —राष्ट्रिय प्रजातन्त्र पार्टीले बझाङ जिल्ला प्रदेशसभा निर्वाचनको लागि किशोर खड्काको उम्मेदवारी दर्ता गराएको छ । प्रदेशसभा क्षेत्र नम्बर १ मा वैशाख १५ गते हुने निर्वाचनको लागि राप्रपाले खड्कालाई अघि सारेको हो । खड्का पर्यटन व्यवसायी एवं पूर्वपत्रकार समेत हुन् । ।
राप्रपाका समर्थकहरु बाजागाजा र नारा जुलुससहित खड्काको उम्मेदवारी दिन मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।