काठमाडौं । नागको पूजा गरेर आज देसभर नागपञ्चमी पर्व मनाइँदैछ । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन घरका मूलढोकामा नागको तस्वीर टाँसेर यो पर्व मनाउने गरिदै आएको छौ ।
नागको तस्वीर टाँस्दा घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने र अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिने धार्मिक मान्यता मानिदै आएको छ । वैदिक मान्यतानुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले उक्त विश्वासका लागि पनि नागलाई खुशी पार्न पूजा गर्ने परम्परा चल्दै आएको छ । प्रत्येक घर घरको जगमुनि नाग बसेको मान्यता लिदै आएको छ । उक्त बसेका नाग रिसाएमा घरको जग नै भत्कन्छ भन्ने विश्वासमा पनि नागको पूजा गर्ने गरिन्छ ।
आज दिनभर पञ्चमी तिथी भएकाले दिनभरी नै घरघरमा नाग टाँस्न सकिने छ ।
काठमाडौँको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड र नाग स्थानमा आज विशेषरुपमा पूजाआजा गरी नागको गाईको दूध, अक्षता, दूबो, खीर र रोटीलगायत परिकार चढाई नागको पुजा गर्ने गरिन्छ ।
सनातन धर्ममा नागलाई विष्णु र शिवका रुपमा मान्ने प्रचलन छ ।
जुन घरमा नागको पूजा हुन्छ, त्यो घरमा लक्ष्मीको वास हुन्छ भन्ने मान्यता हाम्रो समाजमा सनातनदेखि नै मानिदै आएको छ ।
श्रावणशुक्ल पञ्चमीका दिन घरको ढोकामा नागको चित्र टाँस्ने र नागपूजा गर्ने परम्पराले पनि प्रकृतिसँगको हाम्रो प्रकृतिसँग सुमधुर सम्बन्ध भएको र त्यसलाई कायम राख्नुपर्ने कुरालाई सङ्केत गर्छ।