५ औं जुम्ला रारा अल्ट्रा म्याराथन समापन ।
![](https://shivalayatv.com/wp-content/uploads/2024/04/1000019870-780x470.jpg)
जुम्ला रारा अल्ट्रा म्याराथन २०८१ को उपाधि जुम्ला र खोटाङले जितेका छन्। पुरुषतर्फ जुम्ला कनकासुन्दरीका धिरबहादुर बुढा र महिलातर्फ खोटाङकी प्रिया राईले उपाधि जितेका हुन्।
धिरबहादुरले जुम्ला सदरमुकाम खलंगादेखि रारातालसम्मको ४९ किलोमिटर दूरी चार घन्टा ५७ मिनेट ३१ सेकेन्डमा पार गरेका हुन् भने प्रियाले ६ घन्टा ७ मिनेट ५७ सेकेन्डमा उक्त दूरी पार गरिन्
पुरुषतर्फ जुम्लाकै दलबहादुर कुँवर र शेरबहादुर बुढाले क्रमशः दोस्रो र तेस्रो स्थान ल्याए। दलबहादुरले पाँच घन्टा १२ मिनेट ४० सेकेन्डको टाइमिङ निकाले भने शेरबहादुरले पाँच घन्टा १८ मिनेट ३५ सेकेन्डमा उक्त दूरी पार गरेका थिए।
महिलातर्फ जुम्लाकी राज्यलक्ष्मी रावलले ६ घन्टा १५ मिनेट ९ सेकेन्डको टाइमिङ निकाल्दै दोस्रा भइन्। तिला गाउँपालिका जुम्लाकी अनिता बुढाले ६ घन्टा ३३ मिनेट ३४ सेकेन्डमा निर्धारित दूरी पार गर्दै तेस्रा भइन्। म्याराथनमा चार विदेशी खेलाडीसहित ५४ जना दौडिएका थिए।
कर्णाली स्पार्ट्स क्लब जुम्लाको आयोजनामा भएको जुम्ला रारा अल्ट्रा म्याराथन संघीय सरकारका युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले उद्घाटन गरेका थिए। म्याराथनमा सोलुखुम्बु, खोटाङ, रुकुमपूर्व, कालीकोट, मुगु, ओखलढुंगा, सिन्धुपाल्चोक र जुम्लाका धावकले भाग लिएका थिए।
आयोजकका अनुसार जुम्लादेखि दौडिएका ५४ जना धावक मुगुको राराताल पुगेका थिए। जुम्ला खलंगाको बाल मन्दिरदेखि सुरु भएको म्याराथन रारातालछेउमा गएर टुंगिएको हो।
म्याराथनमा प्रथम हुनेलाई एक लाख रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र, दोस्रा हुनेलाई ७५ हजार र तेस्रा हुनेलाई ५० हजार रुपैयाँ दिइएको छ। म्याराथनमा सहभागी हुन सार्क राष्ट्रका धावकलाई १४ हजार ५ सय, अन्य राष्ट्रका धावकलाई १६ हजार, नेपाली धावकका लागि सात हजार र स्थानीय धावकका लागि पाँच हजार दर्ता शुल्क तोकिएको थियो।