सांसद पदवाट निलम्बित रवि लामिछानेः
८ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पुर्व गृहमन्त्री समेत रहेका रवि लामिछाने आजै सांसद पदबाट निलम्बित भएका छन् । संघीय संसद् सचिवालयले आज एक सूचना जारी गर्दै रवि लामिछाने पदबाट निलम्बित भएको जानकारी गराएको छ ।
पत्रमा भनिएको छ “चितवन जिल्ला क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य माननीय रवि लामिछाने विरुद्ध कास्की जिल्ला अदालतमा मिति २०८१/०९/०७ गते आइतबार सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी समेत मुद्दाको पुरक अभियोगपत्र ( दर्ता नं. २०८१-८१-०४३५) दर्ता भएको व्यहोरा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा २७ को प्रयोजनार्थ जानकारीको लागि अनुरोध गरिएको छ भन्ने जिल्ला सरकारी वकील कार्यालय, कास्कीको पत्र प्राप्त हुन आएको हुँदा उक्त पत्र संलग्न राखी पठाइएको भन्ने समेत व्यहोरा उल्लेख गरी जिल्ला प्रहरी कार्यालय (अपराध अनुसन्धान तथा कारवाही शाखा), कास्कीबाट ( प.सं. २०८१/०८२ च.नं. ११५२७ मु.द.नं. ६८ (०८०।०८१)) मिति २०८१/०९/०७ मा सम्माननीय सभामुखलाई सम्बोधन गरी पत्र प्राप्त भएको र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा २७ मा “प्रचलित कानून बमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्रसेवक यस ऐन बमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निजउपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्रसेवक स्वतः निलम्वन भएको मानिनेछ” भन्ने व्यवस्था रहेकोले सो कानूनी व्यवस्थाको प्रयोजनको लागि यो सूचना प्रकाशित गरिएको व्यहोरा समेत जानकारी गराउदै संघीय संसद् सचिवालयले आज एक सूचना गरेको पत्रमा उल्लेख गरिएको छ ।