कैलालीको मोहन्याल: सडक बिस्तार, तर विद्यार्थीलाई दुई घण्टा पैदल हिँड्न बाध्यता
नेपाल सरकारले बालबालिकाका लागि हरेक वर्ष विभिन्न नीति तथा कार्यक्रम ल्याए पनि ती कार्यक्रमहरू धेरैजसो कागजमै सीमित छन्। ६० औं बाल दिवसको अवसरमा पनि “बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी” भन्ने नारा दिइएको छ, तर यस्ता नाराहरू मात्र शब्दमै सीमित भइरहेका छन्।
कैलालीको मोहन्याल गाउँपालिकामा आधारभूत तहका विद्यार्थीहरूलाई विद्यालय पुग्न दुई घण्टा पैदल हिँड्नुपर्ने बाध्यता छ। गाउँपालिकाका अध्यक्ष देविदत्त उपाध्याय (हिमशिखर) ले एक कार्यक्रममा “गाउँपालिकाको पहिलो प्राथमिकता सडक सञ्जाल हो, र ९०% काम भइसकेको छ। तर वर्षायाममा बाटो बन्द हुन्छ,” भनेका छन्। यद्यपि, जहाँ सडक विस्तार भएको छ, त्यहाँ पनि जुनसुकै मौसममा विद्यार्थीहरू कठिनाइका साथ पैदल विद्यालय जान्छन्। अध्यक्षले ९०% विकास भएको दाबी गर्दै सामाजिक सञ्जालमा चर्चा कमाउने उद्देश्यले अन्तरवार्ता दिने गरेको स्थानीयले गुनासो गरेका छन्।
मोहन्याल गाउँपालिका वडा-१, ढल्ले गाउँका विद्यार्थीहरू श्री राष्ट्रिय आधारभूत विद्यालय, मोहन्याल-१, चोसेकाडामा करिब दुई घण्टा हिँडेर जान्छन्। त्यहाँका कक्षा-७ का विद्यार्थी इन्द्र बहादुर बिक भन्छन्, “हतार हतार दौडिएर गयौं भने डेढ घण्टा लाग्छ, नत्र दुईदेखि तीन घण्टा। कक्षा १ देखि ८ सम्मका १०/१२ जना साथीहरू सँगै विद्यालय जान्छौं।” उनीहरूले झुत्रे लुगा र च्यातिएको झोला बोकेर, चट्टानै चट्टानको उकालो-ओरालो बाटोमा दैनिक विद्यालय जान संघर्ष गरिरहेका छन्।
यस्तै, मोहन्याल गाउँपालिकाको श्री महेन्द्र मावि, कोल्तडीका विद्यार्थीहरू, वडा नं. १ घुमाउने, राक्सा, कोसेरीका विद्यार्थीहरू पनि एक-दुई घण्टा हिँड्दै, झाप्री खोलाको खतरनाक बाटो पार गरेर विद्यालय जान बाध्य छन्। दियोबाल्य र दानिगौडा गाउँका विद्यार्थीहरू पनि करिब दुई घण्टाको दूरी पार गर्दै विद्यालय पुग्छन्।
गाउँपालिकाभरका सबै वडाका विद्यार्थीहरू लामो दूरी र कठिन यात्राका कारण विद्यालय जान बाध्य छन्। मोहन्याल गाउँपालिकाले २०८०/८१ को नीति तथा बजेट कार्यक्रममा “हरेक विद्यालयमा इन्टरनेट पहुँचको व्यवस्था गर्ने” र “प्रत्येक निम्न माध्यमिक र माध्यमिक विद्यालयमा अनिवार्य कम्प्युटर ल्याब स्थापना गर्ने” कुरा उल्लेख गरेको भए पनि, यी कुरा अझै कार्यान्वयनमा आउन सकेको छैन।